कोभिड–१९ सचेतना : नमस्कार गरौँ, सङ्क्रमण हुनबाट बचौँ

  फागुन ३०, २०७६

दमौली, फागुन ३० : कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् ।

कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान गरेको छ । शुक्लागण्डकी नगरपालिकाको केही दिन अगाडि सम्पन्न छैठौँ नगरसभाले सो भाइरसबाट बच्न संयमित भई सतर्कता अपनाउन आग्रह गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।

उनले नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न आह्वान गर्दै ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरे  ।

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम रहेको देवघाट गाउँपालिकाले सो भाइरसबाट बच्न सचेतना अपनाउन गाउँवासीलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । साथै गाउँपालिकाभित्र जात्रा, पर्व, मेला महोत्सव जस्ता कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको उनले बताए ।

व्यास नगरपालिकाले भाइरसको जोखिमबाट बच्न ‘नमस्कार गरौँ’ अभियान सञ्चालन गरेको छ । हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ । जिल्लाका म्याग्दे, आँबुखैरेनी, ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिका, भीमाद र भानु नगरपालिकाले पालिकाभित्र सो भाइरसबाट बच्न सतर्कता अपनाउने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउनु नै उत्तम विकल्प रहेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले बताए । ‘व्यक्तिगत सरसफाइ र आचरणमा ध्यान दिन सकिए यसबाट बच्न सकिन्छ’, डा पौडेलले भने ।

तीन वर्षीया छोरीसहित बाबु मृत फेला

तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिए । ‘बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर मार्न तीन वटा गाँठो बनाएको रहेछ’, उनले भने, ‘श्रीमती भागेपछि छोरी र बाबु झुण्डिएको अवस्थामा फेला परे ।’ प्रहरीले घटनाको अनुसन्धान गरिएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने बताएको छ ।

तपाईको प्रतिक्रिया