कारोना भाइरस संक्रमणविरुद्ध सचेतना- आफू पनि बचौं, अरुलाई पनि बचाऔं

  फागुन ३०, २०७६

काठमाडौं, फागुन ३० : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एशियाली राष्ट्र दक्षिण कोरिया, जापान, इरान हुँदै भारतसम्म फैलिएको छ । संक्रमणबाट चीनसँगै इरान, इटाली, अमेरिका, दक्षिण कोरियालगायत मुलुकमा धेरैको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या दक्षिण कोरिया, इरान र इटालीमा तिब्र रुपमा बढ्दै जाँदा भारतमा पनि एकजनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा खुला सीमा रहेका कारण नेपाली मुलुक पनि यसको जोखिमा पर्नसक्ने सम्भावना रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मार्च १२ सम्म विश्वमा एक लाख २५ हजार दुई सय ८८ (१,२५,२८८) जना कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमा चार हजार ६ सय १४ (४६१४) को मृत्यु भइसकेको छ ।

त्यस्तै इटालीमा पनि एक हजार १६ (१०१६) जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमण विश्वब्यापी रुपमा भयावह रुप लिइरहँदा बच्न के गर्न हुने र के नहुने सम्बन्धमा चिकित्सकीय सुझाबमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तयार गरेको सुरक्षात्मक उपायहरु यहाँ उल्लेख गरिएको छ ।

१. सर्वसाधारणसँग पारदर्शी हुने– सरकारी गतिविधि पारदर्शी हुनुपर्छ । पारदर्शिता र सर्वसाधारणमा सूचनाको पहुँचले नागरिक स्तरमा कोरोना सम्बन्धी सूचना पुर्याएर साबधानिका उपाय अपनाउँदै जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

२.सामाजिक स्तरमा दूरी राख्ने– संक्रमितसँग नजिक भए वा सम्पर्कमा आए भाइरसको संक्रमण सर्ने सम्भावना बढी हुन्छ । त्यसैले संक्रमणबाट बच्न टाढा बस्नु नै उत्तम विकल्प हो । विद्यालय, कलेज, उत्सव मनाउन बन्देज लगाइनुको प्रमुख कारण पनि भाइरसको संक्रमणबाट बच्नु नै हो ।

३. पूर्वतयारी आवश्यक– जनवरी र फेब्रुअरी महिनामा एशियाली विभिन्न राष्ट्रमा कोरोना संक्रमण तिब्र गतिमा बढ्यो । संक्रमितको संख्या तिब्र रुपमा बढ्नु अगावै जोखिममा रहेका एशियाली राष्ट्रले व्यवस्थित क्वारेन्टाइन बनाउने, औषधीजन्य वस्तुको आपूर्ति सहज बनाउने, सरकारी स्तरमा उच्च स्तरीय समिति गठन गरी प्रतिकार्यात्मक कार्य सञ्चालन गरियो ।

४. आशंका हुने बित्तिकै परीक्षण गरौं– कोरोना प्रभावित राष्ट्रले आशंका हुने बित्तिकै परीक्षण गराउन विशेष जोड दिएको छ । भाइरसको आगमनबारे पुष्टि गर्न प्रायजसो देशले व्यवस्थित परीक्षण सञ्चालन गर्दै आएको छ ।

५. स्वस्थ्य आहार लिने बानी बसालौं– साधारण सावधानीका उपाय अपनाउँदा त्यसले ठूलो जोखिम टाढा राख्छ । नियमित हात धुने, खोक्दा वा हाछँयु गर्दा नाक र मुख छोप्ने तथा सतह छुँदा सतर्क हुने जस्ता बानी राख्नु साबधानीका प्रमुख उपायहरु हुन् ।

६. श्रमिकलाई कामको लागि सहज बनाउने– एशियाली राष्ट्रहरुमा कोरोना संक्रमणको जोखिम बढेदेखि घरबाटै काम गर्ने वातावरण सम्बन्धित रोजगारदाताले गरेको छ । आधुनिक प्रविधिको प्रयोग गरिएको छ । जसले संक्रमण फैल्ने जोखिमलाई न्यूनीकरण गर्न महत्वपूर्ण मानिएको छ । र श्रमिकले सहज र सुरक्षित महसुस गरेका छन् ।

७. आतङ्कित भएर खरिद कार्य बन्द गरौं– हङकङमा जोखिम बढ्दा दैनिक उपभोग्य सामग्री आवश्यकताभन्दा बढी सञ्चय गर्नुले ठूलो अभाव सृजना गर्यो । राज्यले संक्रमण रोक्न शक्ति लगाइरहँदा नागरिकले अनावश्यक उपभोग्य सामग्री सञ्चय गर्दा बजार आपूर्ति असन्तुलित भई राज्यको ध्यान प्राथमिक विषयभन्दा विकेन्द्रित हुने हुँदा सकभर त्यस्ता कार्य बन्द गरौं ।

८. घरपालुवासँग त्रसित नहोऔं– घरपालुवा जनावरमा भाइरस संक्रमण फेला परेको प्रमाण फेला परेको छैन् । भाइरस सतह र वस्तुमा जिवित रहन्छ । कुकुर वा बिरालोको छालामा भाइरस हुन सक्छ । ढोकाको चुकुल वा हतकलमा भाइरस टाँसिएको हुनसक्छ । फलाममा टाँसिएको भाइरस कम्तिमा १२ घण्टा जिवित रहने हुँदा छुने बित्तिकै साबुन, पानीले हात धुनुपर्छ ।

९. बिरामीलाई कलंकित गर्ने कार्य गर्नुहुन्न– भाइरस फैलिए झैं त्रास र भेदभाव पनि बढ्छ । बिरामीलाई कलंकित गर्ने कार्यका लागि विज्ञले सचेत गराएका छन् ।

१०. आतङ्कित हुनुहुन्न– उपलब्ध तथ्याङ्क बमोजिम भाइरस संक्रमणपछि मृत्युदर दुई प्रतिशत मापन गरिएको छ । जुन इन्फ्ल्युएन्जाभन्दा बढी हो । तर श्वासप्रश्वासकै अन्य सात रोगहरुभन्दा कोरोना संक्रमतिको मृत्युदर अत्यन्तै कम रहेको छ ।

सार्सको मृत्युदर ९.६ प्रतिशत, मर्सको ३५ प्रतिशत मृत्युदर रहेको थियो । लक्षणहरु भने रुघाखोकी जस्तै देखिन्छ, स्वतः निको हुने अपेक्षा राखेर संक्रमणलाई झनै फैल्न प्रश्रय दिइने हुन्छ । तसर्थ सामान्य लक्षण देखिएमा उपचार र परीक्षण गराउनु नै उत्तम हुनेछ ।

तपाईको प्रतिक्रिया