कोरोना संक्रमण भित्रिन नदिन सुरक्षा व्यवस्थामा कडाइ पारिने

  फागुन ३०, २०७६

काठमाडौँ, फागुन ३० : कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र संक्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।

नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उहाँले भन्नुभयो, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ”

उहाँले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ ।

मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ ।

दक्षिणतर्फको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतसँगको नाकामा सुरक्षा सतर्कता व्यवस्थित गर्ने निर्णय गरिएको छ । प्रवक्ता डा. खतिवडाले भन्नुभयो, “भारततर्फको नाका नियमन गर्न भारतले पनि खासखास नाकाबाट मात्र आवागमन खोल्ने भनेको छ । नेपालले पनि त्यही नाकाबाट मात्रै आवागमनलाई व्यवस्थित गर्ने गरी गृह र परराष्ट्र मन्त्रालयले सहकार्य गर्ने भन्ने छलफल भएको छ । ”

प्रवक्ता डा. खतिवडाका अनुसार बैठकमा क्वारेन्टाइन र आइसोलेटेड वार्ड निर्माण, उपकरण, स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले उपचारमा संलग्न हुन चाहिने पर्सनल प्रोटेक्सनका इक्विपमेन्टहरूको आपूर्ति बढाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा आवश्यक परेमा तत्कालै संरचना बनाउन सक्नेगरी तयारी गर्ने विषयमा समेत छलफल भएको थियो ।

यस्तै, आवश्यक परेमा मेडिकल कलेज, स्वास्थ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरू, रेडक्रस, स्काउटजस्ता संस्थालाई स्वयंसेवीका रूपमा परिचालन गर्न तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ ।

संयन्त्रका संयोजकसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजनीतिक पार्टीका कार्यक्रमका साथै विवाह, भोजभतेरजस्ता कार्यक्रमसमेत स्थगित गर्न आमसमुदायलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया