के सरकार यस्तै भयानक समाचारको प्रतीक्षामा छ ?

  फागुन ३०, २०७६

विकसित मुलुकमा समेत मन्त्री र सुपरिचित चलचित्र अभिनेता–अभिनेत्रीहरू नै कोरोना भाइरसको शिकार भइरहेका बेला नेपाल सरकारले जुन किसिमको आलस्यता देखाएको छ, त्यो हेर्दा यही चैत महिनाको मध्यतिर पुग्दा नपुग्दै ‘मन्त्रीलाई नै बचाउन सकिएन, सरुवा रोग अस्पतालमा आज एकै दिन ५० ले ज्यान गुमाए’ शीर्षकमा समाचार छाप्न बाध्य हुनुपर्ने त होइन भन्ने त्रास बढेको छ।

‘रोग लागेर पछुताउनुभन्दा रोग लाग्नै नदिनु आवश्यक छ’ भन्ने उक्ति केबल निबन्ध लेख्नका लागि मात्र बनेको होइन। कोरोना भाइरसले नेपालभन्दा हरेक किसिमले समृद्ध र सक्षम चीन, इटली, कोरिया आदि मुलुक मात्र होइन महाशक्ति अमेरिकालाई समेत लाख प्रयासका बाबजुद नराम्रोसँग अत्याइरहेको छ, तर हामी भने केही अस्पतालमा कोरोना भाइरसका बिरामीका लागि कोठा छुट्याएर आनन्दले बसेका छौं।कोरोना भाइरसले बेलायतका स्वास्थ्य मन्त्री कन्जरभेटिभ पार्टीकी सांसद नाडिइन डोरिसलाई बिरामी बनाएको छ भने हलिउड सुपरस्टार टम ह्याङ्कस र उहाँकी अभिनेत्री श्रीमती रिता विल्सनलाई आक्रान्त पारेको छ।सामान्य थर्माेमिटरले जाँच गरेर यो रोग आउनबाट बच्न सकिँदैनबिहीबारसम्मको विश्व तथ्यांक हेर्दा १ लाख २९ हजार कोरोना भाइरसबाट संक्रमित भएका, ४ हजार ७ सय ४९ ले मृत्युवरण गरेका र ६८ हजार निको भएर घर फर्केको देखिन्छ।हामीकहाँ अनौपचारिकरूपमा बाहिर आएको समाचारअनुसार एक जनामा माघ दोस्रो साताको ल्याब परीक्षणमा कोरोना भाइरस ‘पोजिटिभ’ देखिएको तर माघ २३ गतेको रिपोर्टले ‘नेगेटिभ’ देखाएका कारण बिरामी स्वस्थ भएर आफ्नो काममा फर्किएको समाचारबाहेक अरू कुनै जानकारी छैन, तर आम जनतामा यसको संक्रमण भएका व्यक्तिको संख्या उल्लेख्य रहेको तर परीक्षणको उचित व्यवस्थाको अभावका कारण जानकारीमा नआएको विश्वास देखिन्छ।यस विश्वासलाई पुष्टि गर्ने कार्य नेपालबाट १४ फागुनमा अस्ट्रेलिया गएका विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएको घटनाले गरेको छ। कोरोना भाइरसबाट मारिने स्पेनको पहिलो मान्छे पनि नेपाल आएर फर्केको समाचार स्पेनको मिडियामा आएको थियो। विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यन्त जोखिमको मुलुकको सूचीमा राखेको अवस्थामा पनि हामी सचेत भइरहेका छैनौं, यही दुर्भाग्यको विषय बनेको छ।सम्भाव्य भयानक खतराबाट जोगिन नेपाल सरकारले तत्काल यी कदमहरू चाल्न सक्छ ः

 सबै यात्रुवाहक उडान रद्द गर्ने

 स्कुल तथा कलेज बन्द गर्ने

 बसजस्ता सार्वजनिक सवारीका साधन जसमा भिड गरेर यात्रा गराइन्छ, बन्द गर्ने

 आमसञ्चारका माध्यमलाई सार्वजनिक महत्वका चेतनामूलक सामग्री प्रकाशन–प्रसारणका लागि आह्वान गर्ने। यसका लागि सरकारले विशेष बजेट छुट्याउने।

 कर्पाेरेट हाउससँग ठोस सहकार्य गरेर अगाडि बढ्ने, प्राइभेट हाउसलाई यस्तो सहयोग चाहियो भनेर स्पष्ट आह्वान गर्ने

 छिमेकी भारतसँग रहेको खुला सिमानामा परीक्षण एकाइ खडा गरी आवागमन नियन्त्रित र अभिलेखीकृत गर्ने।

आम नागरिकलाई स्वास्थ्यसम्बन्धी चेतना दिने कार्यमा व्यापक पहल आवश्यक छ। ‘भाइरल सिजन’ चलिरहेको वर्तमान अवस्थामा व्यक्तिले रोगसँग लड्ने क्षमता गुमाइरहेका छन्। यस्तो बेला कोरोना भाइरसले समात्ने सम्भावनाप्रति नागरिकलाई सचेत गराउनुपर्छ।

हाम्रो परीक्षण संयन्त्रमा कहीँ त्रुटि त भइराखेको छैन ? विश्वका १ सय २४ मुलुकले भोगिरहेको यस समस्याबाट त्यही मुलुक सबैभन्दा पहिला सुरक्षित हुनसक्छ जसले समयमै संक्रमण हुने बाटाहरू नै बन्द गरेको छ। पछि ‘सरी’ भन्नुभन्दा अहिले नै ‘सेफ’ हुने विकल्प खोज्नुपर्छ।सरकारले व्यापारका लोभमा सुरक्षात्मक विकल्पप्रति ‘कम्प्रोमाइज’ गरेको देखिन्छ, तर जीवन रहे न व्यापार गर्ने हो भन्ने तथ्य बिर्सिरहेको छ।‘परीक्षण पद्धतिमा हामीकहाँ केही न केही कमजोरी भइरहेको हो कि जस्तो देखिन्छ’, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ परामर्शदाता डा. टंकप्रसाद बोहरा भन्नुहुन्छ– ‘एकातिर कोरोना भाइरस परीक्षणका लागि आवश्यक यन्त्र–उपकरणको कुरा छ भने अर्काेतिर आवश्यक दक्ष जनशक्तिको पक्षलाई पनि ध्यान दिनुपर्छ।’

उहाँको आशंका छ– शंका लागेर परीक्षणका लागि गएका बिरामीको किन यसरी नेगेटिभ आइरहेको छ !‘हाम्रो परीक्षण संयन्त्रमा कहीँ त्रुटि त भइराखेको छैन? नेपालमा यो भाइरस नआउने कुरा व्यवहारतः असम्भव देखिन्छ।’ –डा. बोहरा यो परजीवी नेपालमा नफैलियोस् भनेर प्रार्थना गर्नुहुन्छ र सबैलाई सतर्कता अपनाउन सुझाव दिनुहुन्छ।वरिष्ठ चिकित्सक तथा मानव अधिकारकर्मी डा. सुन्दरमणि दीक्षितको चिन्ता पनि उस्तै छ। उहाँ भन्नुहुन्छ– ‘सरुवा प्रकृतिको रोग नियन्त्रणका लागि समयको ठूलो महत्व हुन्छ, आज गर्ने काम भोलि गरांैला भनेर राखियो भने त्यसको मूल्य भयानक हुनसक्छ। चीन सरकारले अरू देशमा नजानू, अरू देशको मान्छेलाई सर्ला भनिराखेको छ, नेपाल सरकारचाहिँ चूप लागेर विदेशीहरूलाई आउन दिइराखेको छ।’‘कोरोना भाइरसबाट बच्नका लागि राज्यले तत्काल ठोस कदम चालोस् भन्ने आग्रह गर्नुहुन्छ। एयरपोर्टको सामान्य थर्माेमिटरले जाँच गरेर यो रोग आउनबाट बच्न सकिँदैन।’ –उहाँ भन्नुहुन्छ।दिल्ली सरकारले मार्च ३१ सम्मका लागि स्कुल, कलेज, सिनेमा हल बन्द गरेको छ। इटालीमा बुधबार मात्र ६ सय ३१ मान्छेको मृत्यु भयो। अमेरिकाले यो भाइरसका लागि ८ दशमलव ३ बिलियन अमेरिकन डलर विशेष प्याकेज छुट्यायौं भन्यो। बेलायतले ३८ खर्ब यूएस डलर छुट्याएको छ। नेपालमा भने स्वास्थ्यमन्त्रीले कोरोना भाइरस लागेमा आफ्नै क्वारेन्टाइनमा बस्नुपर्छ, सरकारले हेर्न सक्दैन भन्नुभएको छ।होला, कोरोना भाइरसले भन्दा हरेक दिन क्षयरोग, निमोनिया, एचआईभी एड्सले बढी मान्छे मरिराखेका होलान्। तर जुन तरिकाले यो पैmलिराखेको छ, नेपाल सरकारको पूर्वसावधानीपूर्ण तयारी नपुगेको प्रस्ट देखिन्छ।असन, इन्द्रचोक, मंगलबजारजस्ता घनावस्तीमा यो भाइरस गयो भने जंगलमा आगो सल्किए जस्तो सल्किन्छ। सरकारले मिडिया र निजी कम्पनीबाट सहायताको अपिल गरेको छैन, जबकि विश्व स्वास्थ्य संगठनले यसलाई विश्व महामारी भनिसकेको छ।

तपाईको प्रतिक्रिया