फुटबल खेलका माध्यमबाट पोखरालाई चिनाउँदै सहारा

  फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : २०५७ अघि पोखरामा खेलकूदका गतिविधि शून्य प्रायः थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना गर्यो ।

सहारा कपको अर्को वर्ष राष्ट्रियस्तरको क्याराभान गोल्डकप फुटबल आयोजना गरियो । यो प्रतियोगिता निजीस्तरबाट आयोजना गरिएको पहिलो प्रतियोगिता थियो । क्याराभान गोल्डकपको नामबाट शुरु भएको प्रतियोगिता विसं २०५९ देखि आहा राराको नाममा अहिले १८औँ संस्करणसम्म आइपुग्दा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीले गर्व गर्ने मोफसलको प्रतिष्ठित गोल्डकप बनेको छ ।

सहाराले प्रतियोगिता शुरुआत गर्दा देशमा चरम राजनीतिक द्वन्द्वको प्रतिकूल समयमा समेत प्रतियोगिता कुनै वर्ष पनि नरोकीकन निरन्तर सञ्चालन भएबाट गर्विलो इतिहास कायम गर्न सकेको छ । निरन्तर आयोजना भएको प्रतियोगिताले फूटबल खेलका माध्यमबाट पोखरालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुगेको छ भने पोखरा र सहारा खेलकूदमा अहिले पर्यायवाची बनेको छ ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्य बोकको क्लबले बर्सेनि प्रतियोगितामार्फत नवप्रतिभावान् खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्दै खेलकूदका माध्यमबाट पोखरालाई चिनाउँदै आएको छ । सहाराले प्रतियोगिताबाट बचत रकमबाट फुटबल एकेडेमी सञ्चालन गरेर राष्ट्रका लागि सक्षम खेलाडी उत्पादनसमेत गर्दै आएको छ ।

एकेडेमीमा देशका विभिन्न जिल्लाका आश्रित बालकले शिक्षादीक्षासँगै फूटबल प्रशिक्षण गर्ने गरेका छन् । एकेडेमीको खर्च धान्ने प्रमुख स्रोत नै त्यही फुटबल प्रतियोगिता बनेको छ । एकेडेमी व्यवस्थित सञ्चालनका लागि स्वदेश विदेशबाट सहयोग जुटाएर हालसम्म रु दुई करोडको अक्षयकोष खडा गरिएको छ ।

कोषमा रकम आउने क्रम अहिले पनि जारी रहेको बताइन्छ । पछिल्लो समय यहाँ विभिन्न खेल विधाका प्रतियोगिता नियमितजस्तो हुने गरेका छन् । फूटबलसँगै भलिबल, क्रिकेट, टेनिसका प्रतियोगिता शहरदेखि गाउँसम्म पुग्न थालेका छन् । खेलकूदको रौनक बढाउन र खेल विस्तारमा समेत गोल्डकपको योगदान छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ सहारा एकेडेमीका उत्पादन हुनुहुन्छ । राष्ट्रिय टोली तथा विभिन्न ‘ए’ डिभिजन क्लबमा सहाराका उत्पादन विष्णु गुरुङ, अजित भण्डारी, सुशील लामा, लक्ष्मण जिसीलगायत खेलाडीले स्थान बनाएका छन् । उनीहरूले देशका लागि विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिता खेले र नेपाललाई विश्वमा चिनाए ।

जारी १८औँ संस्करणमा एकेडेमीका तेस्रो ब्याचका आधा दर्जन युवा खेलाडीले प्रतियोगितामा ‘डेब्यू’ गर्न सफलसमेत भए । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा सहाराले आफ्नै लगानी र मेहनतमा देश–विदेशबाट सहयोग जुटाई एकेडेमी सञ्चालन गरेर गर्व गर्न लायक कार्य गरेको बताउनुहुन्छ ।

“सहाराले खेल र त्यसमा पनि फूटबलको विकासमा उल्लेखनीय कार्य गरेको छ । खेलको विकास, विस्तार खेलाडी उत्पादनमा क्लबको महत्वपूर्ण योगदान छ”, मन्त्री विश्वकर्माले भन्नुभयो । आगामी दिनमा सरकारका तर्फबाट समेत सहारा एकेडेमीलाई वार्षिकरूपमा सहयोग गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

अहिले पोखरा फूटबल रङ्गशालाको स्वरूप फेरिएको छ । बाँसको अस्थायी प्यारापिटमा बसेर खेल अवलोकन गर्नुपर्ने दर्शकको बाध्यता अन्त्य भएको छ । सुविधासम्पन्न प्यारापिट, शौचालयलगायतका पूर्वाधार बनेका छन् । विगतमा मैदानमा चरिरहेका भैँसी धपाउँदै खेल सञ्चालन गरेको अवस्थामा हाल सुविधासम्पन्न मैदान र प्यारापिटमा खेल सञ्चालन गर्न पाउँदा आफूहरु हौसिएको सहाराका अध्यक्ष केशवबहादुर थापा बताउनुहुन्छ ।

अस्थायी प्यारापिट र शौचालयको प्रबन्ध गरेर खेल सञ्चालन भएकामा अहिले कुनै पनि चुनौती नरहेको बताउँदै उहाँले १९ वर्षपछि सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन गर्न पाउँदा आफूहरुको सपना पूरा भएको उहाँको भनाइ छ ।

राम्रो मैदान र प्यारापिट नहुँदा विदेशी स्तरीय क्लबलाई गोल्डकपमा सहभागिताका लागि प्रस्ताव गर्न नसकिएको अवस्थाको अन्त्य भएको र प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै राम्रा क्लबलाई लागि आमन्त्रण गर्ने वातावरण तयार भएको थापा बताउनुहुन्छ । राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ सहाराको पहिलो ब्याचका खेलाडी हुनुहुन्छ ।

सहाराले उहाँलगायत नवप्रतिभावान् खेलाडीलाई खेल कौशल प्रस्तुतिको अवसर सिर्जना गर्दै फूटबल खेलको विकासमा योगदान गरेको गुरुङले बताउनुभयो । पोखराको मैदानमा खेल्दा छुट्टै जोस र ऊर्जा प्राप्त हुने खेलाडीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया