प्रधानमन्त्रीकाे स्वास्थ्य सामान्य, बिग्रिएकाे भन्ने हल्ला निराधार

  फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौँ दिन अपेक्षित गतिमा स्वास्थ्य सुधार भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गर्नुका साथै प्रधानमन्त्री ओलीले आफैँले दाह्री काट्नुभएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको छ । यसअघिजस्तै नियमित खानपान र व्यायाम गरिरहनुभएको छ ।” प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिएको भन्ने खालका समाचारले भ्रम सिर्जना गरेको जनाएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको स्वास्थ्य विग्रिएको भन्ने समाचार ‘सूचना सङ्क्रमण’ मात्र भएको बताउनुभएको छ । सल्लाहकार रिमालले ट्वीट गर्दै भन्नुभएको छ, “प्रधानमन्त्रीज्यूको स्वास्थ्यको सन्दर्भमा आज बिहानबाट शुरु गराईएको हल्ला सूचना सङ्क्रमण हो । स्पष्ट होऔं ।

” यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यको विषयलाई लिएर भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । सल्लाहकार थापाले ट्वीट गर्दै भन्नुभएको छ, “स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु ।” उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अपेक्षित रुपमा नै सुधारमा रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्रधानमन्त्रीको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैँले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।” प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्नुहुने भान्जी समीक्षा संग्रौलाको बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया