सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

  फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्कप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै उहाँले १९औँ शिखर सम्मेलन यथाशीघ्र होस् भन्ने नेपालको चाहना रहेको र सार्कको वर्तमान अध्यक्षका नाताले शीघ्रातीशीघ्र उक्त सम्मेलन आयोजना गर्ने वातावरण तयार गर्न नेपालले सदस्य राष्ट्रसँग परामर्श गरिरहेको जानकारी उहाँले दिनुभयो । सार्क क्षेत्रका साझा चुनौतीबाट पार पाउन र यस भेगको आर्थिक विकासका अथाह सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

महासचिवमा आफूलाई अनुमोदन गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँले महासचिवको जिम्मेवारी निर्वाहका निम्ति आफूलाई नेपाल सरकारबाट आवश्यक मार्गदर्शन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सार्कको १४औँ महासचिवका रुपमा यही फागुन १८ गतेदेखि उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

तपाईको प्रतिक्रिया