नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

  फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो ।

गत बिहीबारपछि आज खुलेको बजारमा कारोबारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोबार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।

पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोबार भएको थियो ।

नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोबार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया