नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

  फागुन २६, २०७६

काठमाडौँ, फागुन २६ : बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘कारखाना’ ले पढाइ सामग्री उपलब्ध गराउँदै आएको छ ।

विज्ञान, प्रविधि, इञ्जिनीयरिङ, कला, डिजाइन र गणितका क्षेत्रमा हरेक साता करिब छ हजार विद्यालय तहका विद्यार्थीलाई त्यस्ता सामग्री उपलब्ध गराइँदै छ । ‘कारखाना’ बालबालिकाका लागि सिकाइका अनुभव डिजाइन गर्ने मेकरस्पेस नेपाली संस्थाका रुपमा चिनिन्छ । साठी युवा उद्यमीको सञ्चालनमा रहेको कारखानाका कार्यक्रम राजधानी काठमाडौंँ, पोखरा, विराटनगर, बुटवल, चितवनसहित छिमेकी भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एशियाली देशमा फैलिएको सो संस्थाका प्रमुख कार्यकारी निर्देशक पवित्र गौतमले जानकारी दिनुभयो ।

उहाँले विज्ञान पाठ्यक्रमले सिकाइ पद्दति राम्रै सैद्धान्तिक ज्ञान दिन्छ तर व्यवहारिक विज्ञान सिकाइ र पढाइको भने अभाव रहेकाले शिक्षकका चुनौती मिलाई सोचेर किताब र विज्ञान विषयको पढाइ सामग्री (किट्स) तयार गरिएको बताउनुभयो । आफ्नो पहलले बालबालिकालाई रमाइलो लाग्ने खालका विषय प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्टजस्ता कार्यक्रम तयार पारेर सफ्ट स्किल र क्रिटिकल थिङ्किङ सिकाउन काम गरेको उहाँको भनाइ छ ।

बालबालिकाको क्षमता र मनोवृत्तिको विकासले नै आफ्नो भविष्य र समुदायको भविष्य निर्माण गर्ने भएकाले स्थानीयस्तरमा नवपरिवर्तनको भावना जगाउन सन् २०१२ कारखाना स्थापना भएको हो । कारखानाले आगामी चैत १ गते आफ्ना उत्पादन र सेवाको मेला आयोजनाको तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया