हावाबाट बिजुली निकाल्ने तयारी

  फागुन २६, २०७६

नारायणपुर, फागुन २६ : दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ ।

गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको छ । स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाइएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिनुभयो । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन, तर स्याटेलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ”, दुलालले भन्नुभयो ।

ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पंखा पनि जडान गरिएको छ । “असी मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पंखाले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ”, इञ्जिनीयर दुलालले भन्नुभयो ।

गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको उहाँले बताउनुभयो । एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने छ । “दुई वर्षसम्म यसको तथ्यांक निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत उत्पादन शुरु हुन्छ” उहाँले भन्नुभयो । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापन गर्ने काम भइरहेको छ ।

हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उहाँले बताउनुभयो । पहिलो चरणमा रु ६० लाख बराबरको काम भएको उहाँको भनाइ छ ।

अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । उहाँका अनुसार नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।

तपाईको प्रतिक्रिया