प्रहरी हिरासतबाट थुनुवा फरार

  फागुन २६, २०७६

राजविराज, फागुन २६ : सप्तरीमा प्रहरी हिरासतबाट एक जना थुनुवा फरार भएका छन । जिल्लाको बोदेबर्साइन नगरपालिका स्थित प्रहरी चौकी काचनका एक युवक थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । बिहान २ः१५ बजे फरार भएका युवकको खोजीको लागि प्रहरीका सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो ।

घरायसी झगडाका क्रममा आफ्नै श्रीमतीलाई कुटपिट गरी गाउँलेसँग समेत झै–झगडा गरेर आफैं आत्महत्या गर्न हिडेको आरोपमा बोदेबरसाईन नगरपालिका–८ रजपट्टीका ३० वर्षीय महेश यादवलाई गत शनिबार राति करिव पौने २ बजे प्रहरीले पक्राउ गरी हिरासतमा राखेको प्रहरी चौकी काचनका इन्चार्ज विजय सिंहले जानकारी दिएको गोरखापत्र अनलाइनले जनाएको छ ।

आइतबार राती सबै सुतेको मौका छोपेर थुनुवा यादव फरार भएको चौकी इन्चार्ज सिंहको दाबी छ । फरार थुनुवाको खोजीसँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रनाउ भारतीले बताउनुभयो । फरार युवकले केही दिन अघि गाउँमै झग्डाको क्रममा एक जनाको हात भाँचेको स्थानीय लोकेन्द्रप्रसाद यादवले सो विषयमा सामाजिक छलफलमा सात हजार जरिवाना गरिएकोमा पैसा नतिरेको आरोप समेत उनीमाथि रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया