श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन : उद्योग मन्त्री

  माघ २४, २०७६

कञ्चनपुर, २३ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहँुदै उहाँले औद्योगीकरण नगरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा हुन नसक्ने बताउनुभयो ।

उहाँले कृषिमार्फत देशलाई औद्योगीकरणतर्फ लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहँुदै हिजोका दिनमा कृषि उत्पादन निर्यात गरिन्थ्यो, आज आयात गर्न थालिएको छ । त्यसैले कृषिमा देशलाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले लगानीकर्तालाई आकर्षित गर्न र विकासका निम्ति सरकारले कार्यक्रमहअगाडि बढाएको बताउनुभयो । मन्त्री भट्टले भन्नुभयो, “राष्ट्रिय गौरवका योजनालाई सरकारले अगाडि बढाएको छ । जलविद्युत्, यातायात र पर्यटनका क्षेत्रको विकासमा लागेका छौँ ।” दोधारा–चाँदनी सुक्खा बन्दरगाह स्थापनाको काम अगाडि बढाउनका लागि भारत सरकारका सहसचिव, सचिव र मन्त्रीस्तरमा छलफल भएको उल्लेख गर्दै बन्दरगाह निर्माणका लागि कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले विश्व व्यापारसँग नजोडिँदासम्म देशमा विकास हुन नसक्ने बताउनुभयो । दैजी औद्योगिक क्षेत्र र दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई औद्योगिक कोरिडोरका रूपमा अगाडि बढाइने उहाँको भनाइ छ । “मुक्तकमैया, आरक्षपीडित, मुक्तहलिया, सुकुम्वासीलगायतको समस्या समाधान गर्नका लागि नयाँ भूमि ऐन बनेको छ”, उहाँले भन्नुभयो, “भूमि ऐन प्रमाणीकरणपछि ऐन कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका बनाई ऐलानी पर्ति जग्गाको समस्यासमेत समाधान हुन्छ ।”

मध्यपहाडी लोकमार्ग, पश्चिम सेती जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको कार्य सरकारले अगाडि बढाएको उहाँले बताउनुभयो । विकास एक पार्टीका लागि होइन, विकास सबैका लागि भएकाले सबैको एकबद्धताको खाँचो रहेको उहाँले बताउनुभयो । खेलकूदले स्वास्थ्य समाज निर्माणसँगै संस्कारी समाजको निर्माण गर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले यस क्षेत्रमा पर्यटन विकासका लागि हवाइ सेवालाई विस्तार र भरपर्दो बनाउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका क्षेत्रभित्र रहेका १८ माध्यमिक विद्यालय, १३ सामुदायिक विद्यालय, पाँच सामुदायिक विद्यालयका गरी दुई हजार १८ खेलाडी सहभागी भएका छन् । छात्रछात्राका गरी ५० इभेन्टमा एथलेटिक्सका १३ खेलसहित २५ खेल खेलाइनेछन् । ५० स्वर्ण, ५० रजत र ६४ कास्य पदकका लागि प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले आठ लाख बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया