जनता र पार्टीबीचको सम्बन्ध सुदृढ गर्न अभियान : प्रचण्ड

  माघ २३, २०७६

पोखरा, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले तीन महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताउनुभयो । हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उहाँले यो बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताउनुभयो ।

पार्टीले सरकारको नेतृत्व गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा समूहगत छलफल भई अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताउँनुभयो । उहाँले पार्टी एकतापछि ठूलो सङ्ख्यामा रहेको केन्द्रीय कमिटीभित्रका साथीबीच पनि अन्तरघुलन भएको धारणा राख्न्ुभयो ।

समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उहाँले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने विषय बैठकसँगै अन्त्य भएको बताउनुभयो । नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट पार्नुभयो ।

एमसिसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्पmबाट कूटनीतिक नोट भारत समक्ष पठाइएको जानकारी दिनुभयो । नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उहाँले भारतबाट पनि यसमा सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया