काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

  माघ २३, २०७६

काठमाडौं, २२ माघ : पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा आज राजधानीमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिनुभयो ।

दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उहाँले बितेका छ महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएकामा जोड दिनुभयो । पचास वर्षपछि राष्ट्रसङ्घको उक्त विवाद समाधान गर्ने प्रयासस्वरुप गत महिना छलफल भएको जानकारी दिँदै आफूहपरिणामको प्रतीक्षामा रहेको उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताउँदै समय–समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुुगेको छ भन्नुभयो ।

कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवरा, महासचिव मञ्जुरत्न शाक्य, पत्रकारहरू नरेन्द्र उपाध्याय, राजनसिंह कार्की, देवेन्द्र चुडाललगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताउनुभयो । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऐक्यबद्धता दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।

तपाईको प्रतिक्रिया