६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ परिवर्तन

  माघ २०, २०७६

२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

त्यस्तै, आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् । भुसाल प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पनि परिवर्तन भएको छ । संघीय मामिलाले विभागको महानिर्देशकको भूमिकामा रहेका भीष्मकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।

तपाईको प्रतिक्रिया