उपभोक्ता समितिको भुक्तानी विधिसम्मत ढंगले दिइने

  माघ १७, २०७६

जनकपुरधाम, १७ माध : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता समितिलाई भुक्तानी दिन बाँकी रहेका रकम विधिसम्मत ढङ्गले दिइने बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम भएको छ अतः समितिलाई भुक्तानी दिनै पर्दछ भन्नुभयो ।

गत वर्षको भुक्तानी कसरी दिन सकिन्छ भन्ने जिज्ञासामा उहाँले भुक्तानी दिने सन्दर्भमा विधि छ, विधिकै तह सम्पन्न कार्यको भुक्तानी दिइने स्पष्ट गर्नुभयो । प्रदेशमा पाँच सयभन्दा अधिक उपभोक्ता समितिको करीब रु ९२ करोड भुक्तानी दिन बाँकी रहेको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाको राजीनामा आफूसमक्ष नआएको बताउँदै मुख्यमन्त्री राउतले राज्यमन्त्री डा झाको राजीनामा प्रसङ्ग आन्तरिक भएको स्पष्ट गर्नुभयो । राज्यमन्त्री डा झाले सरकारलाई लक्षित गरी राजीनामा दिएको होे भन्ने प्रश्नको जवाफमा उहाँले राजीनामा प्रसङ्ग उहाँहरूको आन्तरिक समस्या हो भन्नुभयो । राज्यमन्त्री डा झाले राष्ट्रिय जनता पार्टी संसदीय दलमा माघ १४ गते राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया