कुष्ठरोगको उपचारमा ढिलाइले जटिलता

  माघ १७, २०७६

काठमाडौं, १७ माघ : कुष्ठरोगको सामान्य सङ्केत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ । कीटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरु नगर्दा रोगले हातखुट्टालगायतका अङ्ग नै काम नगर्ने अवस्थामा पुग्ने यस क्षेत्रमा कार्यरत बताउँछन् ।

लेलेस्थित आनन्दवन अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहका अनुसार रोगप्रतिको गलत धारणा विस्तारै कम भए पनि पूरै हट्न सकेको छैन । सामाजिकरूपमा विभेदमा परिने वा धर्मसँग जोडेर हेरिने हुँदा बिरामी समयमा उपचारका लागि स्वास्थ्य संस्था नपुग्ने उहाँले बताउनुभयो ।

यो रोग लाग्नु अगाडि रोग प्रतिरोधात्मक खोप छैन । उहाँले भन्नुभयो, “त्यसैले पनि सबैभन्दा राम्रो समयमै उपचार शुरु गरेर अङ्गभङ्ग हुनबाट जोगाउने नै हो ।” कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङको दाग र गिर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा कतिपय अझै ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ ।

कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा साहले बताउनुभयो । उहाँका अनुसार रोगको कीटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रूपमा रहेको छ । उहाँले भन्नुभयो, “यसैले कीटाणु फैलिएर बिरामीको अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन् ।”

कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभाँै पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले बताएको छ । बिरामीमा बिस्तारै हात वा खुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखापर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुन्छन् ।

सरकारले यो रोग निवारणको घोषणा गरेको नौ वर्ष बितिसक्दा गत वर्ष रोगको प्रकोप शून्य दशमलव ९९ प्रतिशत थियो । बर्सेनि कुष्ठरोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । रोग निवारण भइसकेको भन्दै सरकार र गैरसरकारी संस्थाले यस क्षेत्रमा लगानी कम गर्दै गएका छन् । हावाबाट सर्ने रोग भए पनि रोगको कीटाणु शरीरमा प्रवेश गर्दा ९५ प्रतिशतलाई रोग प्रतिरोधी क्षमताले काम गर्ने हुँदा बाँकी पाँच प्रतिशतलाई मात्रै रोग सर्न सक्छ ।

तपाईको प्रतिक्रिया