स्कीले लोभ्याउँदै पर्यटक

  माघ १७, २०७६

पोखरा, १७ माघ : हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायत विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् ।

हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । हिउँदमा हिउँ जम्ने भएकाले स्की (हिउँमा चिप्लने खेल) पर्वतीय पर्यटनको महत्वपूर्ण आकर्षण बनेको छ । युरोपेली मुलुकमा स्की खेल शुरु भए पनि नेपालमा यसको थालनी केही वर्षअघि मात्रै भएको हो ।

नेपालमा सन् २०१६ मा पहिलो पटक रसुवाको लाङटाङमा स्की प्रतियोगिता भएको थियो । लाङ्टाङको केञ्जिङ उपत्यकामा सम्पन्न उक्त प्रतियोगितामा १२ खेलाडी सहभागी थिए । अघिल्लो वर्ष मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप २०१९ भएको थियो । प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडी सहभागी थिए ।

प्रतियोगिताकै निरन्तरतास्वरुप भोलिदेखि मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप २०२० प्रतियोगिता गर्न लागिएको छ । “प्रतियोगितासँगै यसले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान गर्नेछ”, उहाँले भन्नुभयो, “स्कीलगायतका साहासिक खेलका माध्यमबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा मद्दत त पुग्छ नै, यसले हिउँदमा पर्यटकको आगमनलाई निरन्तरता दिन सहयोग पु¥याएको छ ।”

मुक्तिनाथमा २० गतेसम्म हुने स्की च्याम्पियनसिपले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुग्ने विश्वास लिइएको नेपाल स्की सङ्घका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ साहासिक खेलबाट नेपाल भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ ।” स्कीका माध्यमबाट हिउँदको मौसममा पनि यहाँको पर्यटनमा चहलपहल गराउने उहाँको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रसकन्ट्रीमा खेल हुने सङ्घका महासचिव विजय श्रेष्ठले बताउनुभयो । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यसले महत्वपूर्ण सहयोग पुग्ने उहाँको दाबी छ ।

स्कीका लागि उपयुक्त स्थान मुक्तिनाथ भएकाले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरी उक्त स्थानलाई स्की स्पोर्टस्का रुपमा विकास गरिने लक्ष्य लिइएको छ ।

आवश्यक पूर्वाधार विकास गर्नसक्ने हो भने मुस्ताङलाई स्की खेलको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्न सकिने सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । “हालसम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ अब खेल पर्यटनको पनि गन्तव्य बन्ने भएको छ”, उहाँले भन्नुभयो ।

स्की नेपालका लागि नौलो हो । यसको विकास गर्न नेपाल स्कीले औपचारिक प्रयास थालेको आठ÷नौ वर्ष भएको सङ्घका सदस्य अर्जुन महर्जनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया