कोरोना भाइरस प्रकोप : अब स्थलमार्ग प्रयोग गर्नेमाथि निगरानी

  माघ १७, २०७६

काठमाडौं, १६ माघ : स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् ।

हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदैआएकामा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनसितको सीमा नाका रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी भएर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिने जानकारी दिनुभयो । “अहिलेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आउनेमाथि निगरानी गर्दै थियौँ, अब चीनसितको सीमा नाकामा सतर्कता अपनाउँछौँ”, उहाँले भन्नुभयो । ती दुवै ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गर्न लागिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्वास्थ्यसेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली रसुवागढी र तातोपानी नाकामा जान लागेको छ । डा अमृत पोखरेल नेतृत्वको टोली रसुवागढी तथा डा गुणनिधि शर्माको नेतृत्वमा तातोपानीतर्फ शुक्रबार टोली जान लागेको उहाँले जानकारी दिनुभयो । सो चिकित्सक टोलीले दुबै नाकामा सुरक्षा निकाय, भन्सार, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायसित छलफल तथा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

“हाम्रो पहिलो प्रयास कोरोना भाइरसको प्रकोपबारे जानकारी गराउने हो, रोग फैलिनु अघि सबैलाई सचेत पार्ने हो”, प्रवक्ता श्रेष्ठले भन्नुभयो । कोरोना भाइरसको प्रकोप फैलिन नदिन सतर्क हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा परराष्ट्र, गृह, रक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी, सुरक्षा निकायका अधिकारीसहितको छलफल तथा परामर्श बैठक बसेको उहाँले बताउनुभयो ।

“चाँडै नै प्राविधिक तथा विज्ञसहितको समिति बनाउँदैछौैँ”, उहाँले भन्नुभयो, “अस्पताललाई तयारी अवस्थामा राखेका छौँ ।” मन्त्रालयले नियमित रुपमा छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । बेइजिङस्थित चिनियाँ राजदूतावाससित नियम सम्पर्क तथा आवश्यक परामर्श गरिरहेको श्रेष्ठले बताउनुभयो । “वहान प्रान्तमा अध्ययनरत विद्यार्थीले नेपाल फर्किन दूतावासमा सम्पर्क गरिरहेको कुरा जानकारीमा आएको छ”, उहाँले भन्नुभयो, “अहिले नै घर फर्काइहाल्ने अवस्था छैन ।”

आवश्यकता परेको खण्डमा सरकारले सबै प्रक्रिया अपनाउने श्रेष्ठले उल्लेख गर्नुभयो । यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मात्रै सबैथोक गर्न नसक्ने र सबैसँगको समन्वयमा आवश्यक काम कारवाही गरिने उहाँको भनाइ थियो । “चीनमा दशौँ हजार विद्यार्थी छन्, अहिले नै नेपाल फर्काइ हाल्ने अवस्था छैन”, श्रेष्ठले भन्नुभयो ।

‘शङ्का लागे स्वास्थ्य परीक्षण गर्न आउनुस्’
प्रवक्ता श्रेष्ठले कोरोना भाइरसबाट सङ्क्रमित भएको शङ्का लागेमा स्वास्थ्य परीक्षण गराउन सबैलाई अनुरोध गर्नुभयो । कोरोना भाइरसबाट सङ्क्रमित भएको जस्तो लक्षण देखिएमा घरमा नबसी सोझै अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्नेमा उहाँको सुझाव थियो । “शङ्का मानेर घरमा बस्न हुन्न, परीक्षण गर्न आउनुस्, अहिलेका लागि हामीलाई सबैभन्दा ठूलो सहयोग हुन्छ”, उहाँले भन्नुभयो । कोरोना भाइरस फैलन नदिन सबैले सचेत हुनुपर्ने र आ–आफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

कोरोना भाइरसबाट सङ्क्रमित फेला परे उनीहरुलाई छुट्टै ठाउँमा कहाँ राख्ने भन्नेबारे निर्णय हुन नसकेको प्रवक्ता श्रेष्ठले बताउनभयो । “छुट्टै ठाउँमा राख्नुपर्ने अवस्था आएको छैन, त्यस्तो अवस्था आएमा हामी व्यवस्था गछौँ”, उहाँले भन्नुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्ममा छ जना शङ्कास्पद व्यक्ति भर्ना भएकोमा सबै जना घर फर्किएका उहाँले उल्लेख गर्नुभयो । “अब कोही बिरामी पनि भर्ना भएको अवस्था छैन”, श्रेष्ठले भन्नुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

चीनको वहान प्रान्तबाट नेपाल आएका एक नेपालीमा कोरोना भाइरस देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको हो । यस क्रममा नेपाल र चीन सरकारको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने हरेक व्यक्तिको दैनिक परीक्षण गर्न थालिएको छ । कोरोना भाइरसको मुख्य लक्षण ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । धेरै भीडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गरेमा यस रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया