निगम सुधार्ने पर्यटनमन्त्रीको पहलकदमी

  माघ १५, २०७६

काठमाडौं, १५ माघ : सरकारले मुलुककै प्रतिष्ठासँग जोडिएको गौरवपूर्ण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन चुस्त र दुरुत बनाउन लागिपरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निगमको व्यवस्थापन सुधार गरी सेवालाई स्तरीकरण गर्न विभिन्न प्रयत्न र पहलकदमी गर्दै आउनुभएको छ । मन्त्रीको चाहनाले मात्रै हुदैन । संस्था सुधारका लागि स्वयम् कर्मचारी जिम्मेवारपूर्वक ढङ्गले लाग्नुपर्ने हुन्छ ।

इतिहासकै सङ्गीन घडीमा रहेको निगमलाई बदलिँदो परिवेश र परिस्थितिअनुरुप कार्यसञ्चालन पद्दति र व्यवहारलाई सोहीअनुरुप कार्यान्वयन गर्नु निगमको गहन जिम्मेवारी र दायित्व हो । अहिलेकै अन्यौलग्रस्त अवस्थामा निगम चल्न सक्दैन ।

निगमको व्यवस्थापनलाई प्रभावकारी बनाउन र निगमभित्रको आर्थिक मितव्ययीतालाई चुस्त बनाउने योजनादेखि निगमको भविष्यको मार्गचित्रसहितको खाका प्रस्तुत गर्न पर्यटनमन्त्रीले निगमका विभागीय प्रमुखलाई कडा निर्देशन दिनुभएको छ ।

निगमको नयाँ सडकस्थित मुख्यालयमा आज पर्यटनमन्त्रीले निगमका सबै विभागका विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिसँग निगम सुधारबारे छलफल गर्नुभएको हो । कार्यक्रममा पर्यटनमन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

पर्यटनमन्त्री भट्टराईले इतिहासलाई मात्र गर्व गरेर बस्ने छुट नरहेको भन्दै राष्ट्रिय गौरवसँग जोडिएको विषय भएकाले निगमलाई जसरी पनि माथि उठाउनैपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“गौरवमय इतिहास बोकेको निगम आजसम्म जे–जस्तो गरी आइपुग्यो यसको विद्यमान संरचनालाई अब नयाँ ढङले अघि बढाउनैपर्छ, त्यसका लागि कर्मचारी तयार हुनुस्, निगम यतिखेर ऐतिहासिक र निर्णयक अवस्थामा आइपुगेको छ ।”

कुनै पनि संस्थालाई माथि उकास्न केही न केही सम्झौता वा त्याग गर्ने पर्ने भन्दै मन्त्री भट्टराईले निगमको अहिलेको यो अपरिहार्य आवश्यकता हो भन्नुभयो । भारतको एयर इण्डियाको विघटनको उदाहरण दिँदै पर्यटनमन्त्रीले समस्या समाधान गर्न बेलैमा सुजबुझपूर्ण तयारीका साथ अघि बढ्नुमानै निगमको भविष्य उज्वल हुने उल्लेख गर्नुभयो ।

उहाँले निगमका प्रत्येक विभागले हालको समस्या र आगामी कार्ययोजनाको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्न पनि निर्देशन दिनुभयो । निगमभित्रको अनावश्यक खर्च कटौती गर्दै विदेशस्थित निगमका कार्यालयमा बढ्दो खर्च घटाएर आर्थिक मितव्ययिता अपनाउन पनि मन्त्रीले आग्रह गर्नुभयो ।

कर्मचारीले सेवा प्रवाहमा कुनै लापरवाही गरेको पाइएमा कडा कारवाही गर्ने बताउँदै मन्त्री भट्टराईले निगमको उडानसँग जोडिएका सबै विषयलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

“मैले सुनेको छु यहाँका विभागीय प्रमुख तथा कतिपय उपल्लो तहका कर्मचारी व्यापारीसँग समय बिताउने, लन्च गर्ने डिनर गर्ने र अफिसको कामलाई बेवास्ता गरिरहेको पाइएको छ । अब छाडिदिनुस् व्यापारिक समूहसँगको हिचमिच र लन्च डिनर अनि कुन दिन के विषयमा को व्यापारीसँग कस्तो विषयमा कुराकानी भयो संस्थालाई जानकारी गराउनुस यो संस्थागत अभिलेखका लागि पनि आवश्यक छ”, पर्यटनमन्त्रीले भन्नुभयो ।

निगमको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्दै उहाँले ¥याम्प बस खरिदमा किन ढिलाइ भइरहेको हो भनी प्रश्न गर्नुभयो । विगतमा अस्थिर सरकार भएकाले निगमको अवस्था पनि अस्थिर भएको प्रसङग उल्लेख गर्दै मन्त्री भट्टराईले अहिलेको सरकार स्थिर मात्र हैन बलियो र शक्तिशाली भएकाले निगमको अवस्थालाई सुधार गर्न जस्तोसुकै कदम चाल्नसक्ने र त्यस परिस्थतिलाई सामना गर्न कर्मचारी तयार हुनुपर्ने बताउनुभयो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले हालै राजिनामा दिएपछि अहिले पर्यटन मन्त्रालयका सचिवलाई निगमकोसमेत जिम्मेवारी दिइएको छ । निगमको व्यवस्थापकीय कमजोरीका कारण सेवा प्रभावकारी बनाउन सकेको छैन ।

दुई वर्षअघि कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट ऋणमा खरिद गरिएका दुई वाइड बडी जहाजले उचित गन्तव्य पाउन सकेका छैनन् । जसले निगमको व्यापार घाटा छ । अर्बो ऋणमा रहेको निगम सुधार्न सञ्चित पूँजीका लागि २० अर्बको मागसहित निगमले सरकारसँग ताकेता गरिरहेको छ ।

आन्तरिक उडानमा रहेका चिनियाँ जहाज सञ्चालन हुन नसक्नु तथा अन्तरराष्ट्रिय गन्तव्य विस्तार र बजार प्रवद्र्धन गर्न नसक्नुले निगमको अवस्था कमजोर बन्दै गएको छ । पछिल्लो पटक नेतृत्वको कमजोरीको फाइदा उठाउँदै निगमभित्र राजनीतिक गुटबन्दी चर्किकएको छ । निगमका चालकले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै सामूहिक राजिनामा जस्ता धम्की व्यवस्थापनलाई दिएका छन् । आवश्यकता भन्दा बढी कर्मचारीले पनि निगमलाई समस्या परेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया