गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

  माघ १४, २०७६

बेत्रावती, १३ माघ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ ।

गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौं जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन । उनीहरूको खोजीका लागि गाउँपालिकाले एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो ।

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया