मकवानपुर गढी पर्यटकीय गन्तव्य : मुख्यमन्त्री पौडेल

  माघ ११, २०७६

हेटौंडा, १० माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभएको छ । उहाँले आगामी केही वर्षभित्र दैनिक पाँच हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गरिने बताउनुभयो ।

मकवानपुरगढीमा २५७औँ विजयोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रूपमा स्थापित गराउन महत्वपूर्ण दिन भएको बताउनुभयो । उहाँले यो ऐतिहासिक क्षेत्रको प्रवद्र्धन गर्नमा प्रदेश सरकार लागिपर्ने बताउनुभयो । ‘माघ १०’ नेपालको इतिहासमा गर्विलो दिन भएको उहाँको भनाइ थियो ।

नेपाली सेनाले विदेशी सेनासँग लडेर धेरैको सङ्ख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनको रूपमा माघ १० गते विजयोत्सवको रूपमा मनाउने गरिन्छ । गोर्खालीहरूसँग हारेर भागेका मकवानपुरे राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बाँनियाहरूको अनुरोधमा मुगल बादशाह अङ्ग्रेजहरूसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर विसं १८१९ पुस २७ गते गुरगिन खाँको नेतृत्वमा रहेको मुगल बाद शाह मिरकासिमको फौजले मकवानपुरमा हमला ग¥यो ।

लडाइँ जितेर काठमाडौं छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । मकवानपुरमा आएको त्यस बङ्गाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो । माघ १० गते सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग¥यो । गढीका खोजकर्ता केदार न्यौपानेका अनुसार ४०० दक्ष र केही सामान्य सैनिक रहेको गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाएका थिए ।

विसं १८१९ माघ १० गते भएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार ७०० सेना मारिएका थिए भने नेपालका जम्मा ३० जनामात्र मारिए । आजभन्दा २५७ वर्षअघि आजकै दिनको जीतपछि गोर्खाली सेनाले मिरकासिमका फौजबाट ५०० भन्दा धेरै राइफल र दुई तोप हात पारेर श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको र केही समयपछि पुरानो गोरखगुल्मसमेत स्थापना गरेको इतिहासमा पढ्न पाइन्छ ।

इतिहासकारहरूका अनुसार सो युद्धमा मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाहको नेतृत्वमा ४०० सैनिक थिए । पछि पृथ्वीनारायणले थप ८०० सेनासमेत पठाएका थिए तर उनीहरू आइपुग्नुअगाडि लडाइँ सकिएको थियो । पहिलो विजयोत्सवमा सहभागी हुन पृथ्वीनारायण शाह स्वयम् यहाँ आएको जानकारहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया