बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

  माघ ०७, २०७६

लण्डन, ५ माघ : बेलायती राजकुमार ह्यारी र उनीकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेका औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।

ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थियो । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो ।

शाही दरबारको यो निर्णयसँगै उनीहरूले शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर उनीहरूलाई आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।

महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरूपछि रचनात्मक र सहयोगात्मक कामहरू गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु, ९३ वर्षीय महारानीले वक्तव्यमा लेख्नु भएको छ ।

उनले भन्नु भएको छ, ह्यारी, मेगन र उनीहरूका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुप¥यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।

दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

दरबारको यो निर्णयसँगै उनीहरू अब राजपरिवारका औपचारिक सदस्य नरहने भएका वक्तव्यमा जनाइएको छ । ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताए । केही समयको प्रेम सम्वन्धपछि उनीहरूले २०१८ मा विवाह गर्नु भएको हो ।

राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ बर्षको भएका छ भने उनीकी श्रीमती मेघन ३८ बर्षको भएका छ । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी थिए ।

तपाईको प्रतिक्रिया