एमसिसी राष्ट्रको हितमा : प्रवक्ता श्रेष्ठ

  माघ ०७, २०७६

गलकोट, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताए । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताए ।

एमाले र माओवादी भन्ने इतिहास हो, श्रेष्ठले भने, नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन । उनले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने पनि बताए । उनले भने, ‘‘एमसिसीको योगदान सकारात्मक हुन्छ । यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’’

नेता श्रेष्ठले पत्रकारहरूको जवाफ दिँदै पार्टी एकीकरण भइसकेपछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा जायज नभएको प्रस्ट पार्नुभएको थियो । उनले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसद्को गतिरोधले छिट्टै निकास पाउने बताए । संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उनले विश्वस्त पार्नुभयो ।

राष्ट्रियसभाको उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवारी दिइएको बताए । राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसारका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बन्नुभएका नेता श्रेष्ठ र भगवती न्यौपाने बागलुङ आउनुभएको हो ।

तपाईको प्रतिक्रिया