प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । बैठकको अध्यक्षता गर्ने उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले आज विशेष कारणवश बैठक स्थगन गरी अर्काे बैठक आगामी माघ ६ गते अपराह्न १ बजेका लागि तोक्नुभएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

यही पुस ४ गतेदेखि शुरु भएको सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक रिक्त सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा यसअघि पनि यही पुस ११ र १६ गते स्थगन भएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयका आधारमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहन्छ ।

सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिई दुवै पदको नयाँ निर्वाचनको प्रक्रियाका लागि मार्गप्रशस्त गर्न नेकपा नेतृत्वले आग्रह गरिसकेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपसभामुख तुम्बाहाङ्फेले परामर्श पनि गर्दै आउनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले रिक्त सभामुखमा आफूलाई उम्मेदवार बनाउन माग गर्दै आउनुभएको छ । (रासस)

तपाईको प्रतिक्रिया