राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ,” सन्देशमा भनिएको छ ।

उहाँले छरिएर रहेका अनेकौँ राज्यहरूलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको स्मरण गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।”

जनतालाई सर्वोपरी ठान्ने पृथवीनारायण शाहका जीवन्त दृष्टिकोणहरू मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा ऐतिहासिक यस दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

पृथ्वीनारायण शाहप्रति संस्कृतिमन्त्रीबाट श्रद्धाञ्जलि
आधुनिक नेपालको एकीकरणमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ ।

दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्र निर्माताप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि प्रकट गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले उहाँप्रति सम्मान अर्पण गरेको थियो । राष्ट्रनिर्माताको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

यसअघि प्रज्ञा–प्रतिष्ठानबाट शाहको ठूलो तस्बीर बग्गीमा राखिएको बाजागाजासहितको पदयात्रा शहरका विभिन्न भागको परिक्रमा गरी शालिकस्थल आइपुगेको थियो । राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, तीनै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, पूर्वप्रशासक एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सिंहदरबार पश्चिम मूलद्वार पुग्नुभएको थियो ।

उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न सङ्घसंस्थाका बेग्लाबेग्लै झाँकी र बाजागाजासहितको पदयात्रा पनि सिंहदरबारनिर आएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट दिइएको ‘दिव्योपदेश’ अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

सो अवसरमा कायममुकायम प्रधानसेनापति शरद गिरीलगायत अन्य सुरक्षा निकायका उच्चअधिकृतले पनि राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायत सङ्घसंस्थाको बाजागाजासहितको पदयात्रामा सहभागीले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पदयात्राका सहभागीले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ’, ‘पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा घोषणा होस्’भन्ने जस्ता प्लेकार्ड बोकेका थिए ।

जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।

सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गर्नुभयो ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उहाँको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइयो । रासस

तपाईको प्रतिक्रिया