बौद्धिक र पूँजी पलायन रोक्नुपर्ने : मन्त्री भट्टराई

  पुष २६, २०७६

काठमाडौँ, २६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेकाले त्यसलाई राख्नुपर्ने बताउनुभयो ।

विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नुपर्नेसमेत उहाँको भनाइ रहेको थियो । “विदेशमा भएर अध्ययन गर्नु राम्रो हो । तिनीहरूले विश्वमा भएको विकासको बारेमा सिक्न पाउँछन्”, उहाँले भन्नुभयो, “त्यहाँ अध्ययन गरेसकेपछि ती विद्यार्थीलाई नेपालमा फर्काउन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने छ ।”

उहाँले १९८० को दशकमा विश्वमा रहेका चिनियाँ नागरिक आफ्नो मुलुक फर्केको उल्लेख गर्दै नेपालले पनि त्यसैगरी विश्वमा रहेका बौद्धिक व्यक्तिलाई फर्काउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा नेपालको पर्यटन बजारलाई उपस्थित गराउन नेपाल भ्रमण वर्ष–२०२० शुरुआत गरिएको भन्दै इक्यानले पनि आफ्नो पहलबाट नेपालमा पर्यटक ल्याउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

“यहाँबाट लाखाँै विद्यार्थी अध्ययनका लागि बाहिर गएका छन् । ती विद्यार्थीले आफ्नो कजेलमा नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएर भ्रमण वर्षमा त्यहाँका कलेजबाट पनि पर्यटक ल्याउनु पर्दछ”, उहाँले भन्नुभयो । उहाँले भ्रमण वर्ष शुरुसँगै भौतिक पूर्वाधारका काम पनि सँगै हुने बताउनुभयो । हिजोभन्दा राम्रो सेवा हाम्रो विमानस्थलले दिन थालेको भन्दै उहाँले नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका राम्रा विमानस्थलले दिने सेवा दिने धारणा राख्नुभयो ।

कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले विदेश अध्ययन गर्न जाने विद्यार्थीमार्फत आफूहरूले पर्यटक भित्र्याउने बताउनुभयो । साधारणसभाले दुई वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

मिडिया स्वतन्त्र भए देशमा लोकतन्त्र बलियो हुन्छ ः पूर्वराष्ट्रपति
चितवन, २६ पुस ः पूर्वराष्ट्रपति डा रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।”

विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उहाँको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उहाँले बताउनुभयो ।

तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उहाँले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पूर्वराष्ट्रपति डा यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्दछ भन्नुभयो ।

सभापतिसँग पार्टी सञ्चालनको योजना छैन ः महामन्त्री कोइराला
चितवन, २६ पुस ः नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।”

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उहाँको भनाइ थियो । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन सकेको छैन कोइरालाले थप्नुभयो ।

सभापतिप्रति कडारुपमा प्रस्तुत बन्नुभएका महामन्त्री कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताउनुभयो । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया