वागमती सफाइ अभियान ३४८ औं हप्तामा

  पुष २६, २०७६

काठमाडौँ, २६ पुस : पुसको चिसोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ताको शनिबारजस्तै आज पनि निरन्तररूपमा जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३४८ औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिंगाल पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा १८ संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएकोे छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको पनि सक्रियता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३१० औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा मुहानदेखि नै नदी सफाइ भन्ने नाराका साथ यस क्षेत्रको सफाइ भइरहेको छ ।

कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइमा करिब २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । रुद्रमती सफाइको ३०० औँ हप्तामा कालोपुलबाट ज्ञानेश्वर हुँदै मैतीदेवी मन्दिरसम्म सफाइ गरिएको छ । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानलगायत संस्थाका गरी १५० भन्दा बढी अभियानकर्मीका सक्रियता रहेको रोहित गिरीले जानकारी दिनुभयो ।

जति सफाइ गरे पनि विष्णुमती फोहर फाल्न नछोडेको, सिसडोल लैजाने क्रममा केही फोहर विष्णुमतीमा फालेकाले सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाएर छलफल गराउने अभियान स्थगित गरिएको छ । सफाइ संयोजक शोभाकान्त पाण्डेले दिनुभएको जानकारीअनुसार विष्णुमतीको बहाव क्षेत्रका सबै स्थानीय तहलाई बोलाएर कार्यक्रम गर्ने तयारी भइरहेको सुनाउनुभयो ।

चक्रपथ पश्चिम खण्ड सफाइको १२८ औँ हप्तामा पाटन क्षेत्रको सम्पदा पदयात्रामा सहभागी भएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । चक्रपथको कलङ्कीबाट महाराजगञ्जको क्षेत्रमा विस्तार शुरु भएकाले पनि सम्पदा यात्रामा सफाइ अभियानकर्मी सहभागी भएको उहाँले सुनाउनुभयो ।

मनोहरा सफाइको १४७ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नीलो पुल क्षेत्रमा सफाइ गरियो । करिब १०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले राससलाई सुनाउनुभयो ।

२०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका अरु नदी र चक्रपथ सफाइ अभियान शुरु भएको हो । वाग्मती सफाइ अभियानबाट प्रभावित भई हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान चलेको छ । अन्तको सफाइ अभियान एक दुई हप्ता रोकिने गरे पनि वाग्मती सफाइ अभियान भर्ने हिउँद, वर्षा, चाडपर्व जेसुकै परे पनि प्रत्येक हप्ताको शनिबार वाग्मती नदी किनारमा जारी छ ।

यसैगरी आज उपत्यकाका वाग्मतीको तिलगङ्गा, चक्रपथको उत्तरी भाग र सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ अभियान भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया