थारू बस्तीमा माघीको चटारो

  पुष २६, २०७६

थारू समूदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन् । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारू बस्तीमा शुरु भइसकेको छ ।

थारू समुदायको माघी पर्व आउन चार दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरूपमा मनाउने थारू समुदायका मानिस अहिले माघीको तयारीमा जुटेका छन् । पुरुष माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ ।

माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइनभ्याई छ । माघी थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका हरिप्रसाद थारूले बताउनुभयो । माघीमा आफन्त आउने भएकाले सत्कारका लागि तयारी शुरु गरेको उहाँको भनाइ छ ।

“माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौँ”, चिसापानीकै फूलमती चौधरीले भन्नुभयो । एक महिनाअघिदेखि नै माघीको तयारी शुरु हुने थारू समुदायमा खानाका परिकार पकाउन काठ, दाउरा अनादि चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने काम गरिन्छ ।

तराईका थारू गाउँ अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् । यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् ।

माघीमा मिठोमसिनो खाने, नाचगान गरी रमाउने चलन छ । “माघी पर्वसँगै थारू समुदायमा विधिवतरूपमा विवाह, अंशवण्डालगायतका कार्यको थालनी हुन्छ”, चिसापानीकै राजकुमार चौधरीले भन्नुभयो, “यस दिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुलजस्ता परिकार खाने र खुवाउने चलन छ ।” बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको टिटिहिरियाका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताउनुभयो ।

विदेश कमाउन गएका युवा पनि माघी मनाउन घर फर्किन शुरु गरेका छन् । सबैतिर माघीको तयारी चलिरहेको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारूले बताउनुभयो । “गाउँमा साथीहरु मिलेर रमाइलो गर्छौँ”, उहाँले भन्नुभयो, “माघीको रौनकले विगतका पीडा भुलाइदिन्छ, थारू पर्व उल्लासमय बनाउन लागिपरेका छौँ ।” माघ महिनामा थारू समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने÷नबस्ने, जग्गा अधिया लगाउने÷नलगाउने, बडघर बस्ने÷नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउँछन् ।

पुसको अन्तिम दिन थारू समुदायमा रातभरि आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ । माघ १ गते बिहानै भाले बासेको समय करीब बिहानै २ः०० बजेदेखि नजिकै रहेको खोला, नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वादसमेत लिने चलन छ । माघी पर्वमा एकापसमा साथीभाइसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारू महोत्सवसमेत आयोजना गर्न थालिएको छ ।

घोँगीको माग धेरै
माघी पर्व शुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारूलाई घोँगी किन्ने ग्राहकको दैनिक फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी तथा मेला, महोत्सवमा बिक्री गर्न घोँगीको माग अत्यधिक हुने गरेको छ । माग अधिक भए पनि अत्यधिक चिसोका कारण भनेजस्तो घोँगी भेट्टाउन नसकिएको ले बताउनुभयो ।

“घोँगी पठाइदिनुप¥यो भन्दै दिनदिनै फोन आइरहन्छ, तर पु¥याउनै सकेको छैन”, थारूले भन्नुभयो, “यसपालि भनेजस्तो भेट्टाउन सकिएको छैन ।” तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आउनुभएका उहाँले आफ्नै तलाउबाट घोँगीको जोहो गरेको बताउनुभयो । थारू समुदायमा घोँगीको परिकारलाई विशेष मानिन्छ । स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् । घरवास, रेष्टुरेण्टमा समेत बिक्री हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताउनुभयो ।

तपाईको प्रतिक्रिया