सुनको मूल्य २० दिनमै चार हजारले बढ्यो

  पुष २०, २०७६

काठमाडौं, २० पुस : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार बजार खुल्ने बित्तिकै एक हजारले वृद्धि भई तोलामा ७५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार दुई सय रुपैयाँ थियो । चाँदीको मूल्य भने प्रतितोला नौ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य नौ सय रुपैयाँ नै थियो ।

यही पुस १ गते छापावाला सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला चार हजारले वृद्धि भएको छ । पुस १ गते प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० दिनमा आइपुग्दा ५० रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार गत मंसिरमा सामान्य अंकले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ । गत मंसिर १ गते छापावाल सुन प्रतितोला ७१ हजार आठ सय, तेजाबी सुन ७१ हजार पाँच सय र चाँदी प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । सोही महिनाको २० गते छापावाला सुन प्रतितोला ७१ हजार सात सय, तेजावी सुन ७१ हजार चार सय र चाँदी आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुन तीन हजार आठ सय रुपैयाँले वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारसमेतमा परेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया