कैदीबन्दीलाई कम्बल वितरण

  पुष १९, २०७६

लहान, १९ पुस : विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । कारागारमा कैदीबन्दी जीवन बिताईरहेका २५ जना महिला र २५ जना पुरुषलाई चिसो छल्न कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै चिसोबाट पीडित सिरहाको गोलबजार नगरपालिका वडा नंम्बर ७ का २५० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई नगरपालिकाले न्यानो कपडा र खाजा वितरण गरेको छ । सो वडाका ९५ जना ज्येष्ठ नागरिक, ४३ जना दलित ज्येष्ठ नागरिक, ९९ जना एकल महिला गरी २५० जनालाई कम्बल प्रदान गरेको वडा अध्यक्ष जगतकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा उपस्थित ज्येष्ठ नागरिक तथा एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि सिरहा नगरपालिका र बिष्णुपुर गाउँपालिकाले पनि विभिन्न वडाका ३०० भन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको थियो । त्यस्तै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले पनि वडा नम्बर १ देखि ६ वटाका ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई कम्बल बितरण गरेको छ भने स्थानीय स्तरमा आगो समेत बालेको छ ।

चिसो र शितलहर शुरु भएसँगै सिरहामा स्थानीय तह र स्थानीय प्रशासनले सक्रियता बढाएका छन् । स्थानीय तह र स्थानीय प्रशासनले सक्रियता बढाएपछि यसवर्ष सिरहामा चिसोका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।

विगत वर्षहरूमा चिसोले कठ्याग्रिएर ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यको मृत्यु हुने गरेको थियो । तर, यसवर्ष स्थानीय तहसँगै स्थानीय प्रहरी प्रशासनले न्यानो कपडा वितरण तथा आगो बाल्ने प्रबन्ध मिलाएपछि मानवीय क्षति घटेका समाजसेवी सत्रुधन चौधरीको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया