‘बादलभित्रको घाम’ साहित्य पुडासैनी र अर्याललाई

  पुष १९, २०७६

काठमाडौँ, १९ पुस : शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ ।

पुरस्कारका लागि विसं २०७५ मा प्रकाशित भएकामध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी ती दुई कृति पुरस्कृत गरिने भएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले जानकारी दिनुभयो । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।

पुडासैनीको कृतिमा मधेश तराई गाथा र अर्यालको कृतिमा नारीवादी तर आत्मिक प्रेम वर्णन भएकाले छनोट गरिएको पुरस्कार चयन समितिका संयोजक डा देवीप्रसाद गौतमले उल्लेख गर्नुभयो । पुरस्कृत ती दुईसहित उत्कृष्ट पाँचमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ परेका थिए ।

‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी १२ हजारप्रति प्रकाशन भएको थियो । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया