प्रदेश १ लाई सुन्दर पर्यटकस्थल बनाउँछौं : मुख्यमन्त्री राई

  पुष १६, २०७६

विराटनगर, १६ पुस (रासस) : नेपाल भ्रमण वर्ष–२०२० आज यहाँ भव्यरूपमा शुभारम्भ गरिएको छ । स्थानीय शहीद रङ्गशालामा आयोजित शुभारम्भ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सैनिक विद्यालय धरान, लाखेनाच, नेपाल स्काउट, विभिन्न जातजातिले झाँकी प्रदर्शन गरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई सुन्दर पर्यटकस्थल बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रबाट ग्रार्हस्थ उत्पादन अगामी दिनमा १.५ प्रतिशतबाट ५ प्रतिशत बनाउने भन्दै यस क्षेत्रको समग्र विकास गरी गरीबी निवारण र रोजगारी सिर्जन गरिने बताउनुभयो ।

प्रदेश १ मा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले यसको पूर्वाधार विकासमा लागि परेको जानकारी दिँदै उहाँले पर्यटन क्षेत्रको विकास गरी यस क्षेत्रमा आगामी दिनमा ३२ हजार रोजगारी सिर्जना हुने दावी गर्नुभयो । अध्यायन र अनुसन्धानका लागि यो प्रदेश निकै महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकास गरी समृद्धिको आधार तयार हुने धारणा राख्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले हामीसँग प्रशस्त सम्भावना हुँदा पनि देशले अग्रता लिन सकेन, अब मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तनले यी सबै सम्भावनाको उच्चतम प्रयोग र उपयोग गरी पर्यटकस्थलको रूपमा विकास गर्ने बताउनुभयो । उहाँले पर्यटक मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई अलग गरेर देशमा विकास हुन नसक्ने भन्दै प्रदेश नं १ भौगोलिक, धार्मिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले पनि बेग्लै पहिचान बनाएकाले यसको समग्र विकासमा प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्नुभयो ।

नेपालमा भ्रमण वर्षको शुरुवात सन् १९९८ बाट शुरु भएको हो भने दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० लाई कायम गरेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा मनाउन विस २०७४ साउन २९ गते घोषणा गरेको थियो ।

प्रत्येक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन तीव्र गतिमा काम गरिरहेको पाइएको छ । यही सन्दर्भमा नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रूपमा मनाउन सरकारले छनोट गरेको १०० गन्तव्यस्थानमा प्रदेश नं १ मा १६ स्थान रहेको छ । यी सबै स्थानको विकास विस्तर एवं पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया