अष्ट्रेलियाका दर्शकले रुचाए ‘मारुनी’

  पुष १२, २०७६

चलचित्र ‘मारूनी’ अष्ट्रेलियामा प्रदर्शन गरिएको छ । शुक्रबार साँझ अष्ट्रेलिया सिड्नीको सिभिक थिएटरमा चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनका लागि नायक पुष्प खड्का र निर्मात्री पुनम गौतम सिड्नी पुगेका थिए ।

चलचित्र हेर्न आएका दर्शकको संख्या निकै उत्साहजनक रहेको निर्मात्री गौतमले बताइन् । उनले भनिन्, ‘हामीले जुन दर्शकको अपेक्षा गरेका थियौँ, त्योभन्दा बढी उपस्थित हुनुहुन्थ्यो । दर्शकको उपस्थितिले हामीलाई खुसी बनाएको छ ।’

चलचित्र हेरेका दर्शकले चलचित्रलाई निकै रुचाएको नायक खड्का बताउँछन् । उनले भने, ‘जति पनि दर्शकले चलचित्र हेर्नुभयो उहाँहरुले चलचित्र रुचाउनु भएको छ । मलाई भेटेर धेरैले राम्रो प्रतिकृया दिनुभएको छ ।’

सिड्नीमा चलचित्रको एक शोमात्र गर्ने योजना थियो । तर, दर्शकको उत्साहजनक उपस्थितिले दुई शो थप्ने पक्षमा आयोजक रहेको निर्मात्री गौतमले बताइन् । अष्ट्रेलियाको अन्य शहरमा पनि चलचित्र प्रदर्शन आयोजना गरिएको छ ।

नवल नेपाल निर्देशित यस चलचित्रमा पुष्पसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको पनि मुख्य भूमिका छ । चलचित्रले तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको छ । नेपालमा पनि यस चलचित्र सफल भएको थियो । स्रोत : अनलाइनखबर

तपाईको प्रतिक्रिया