ललितपुरमा एउटा घर प्रबलीकरण

  पुष १२, २०७६

ललितपुर, १२ पुस : २०७२ को विनाशकारी भूकम्पले ललितपुरभित्र क्षति पु¥याई प्रबलीकरण गर्नुपर्ने कूल एक हजार ३८२ निजी घरमध्ये हालसम्म एउटा मात्र घर प्रबलीकरण भएको छ । ललितपुरमा रहेका छ वटा पालिकामध्ये महाँकाल गाउँपालिकाभित्र रहेको सो एउटा घर प्रबलीकरण भएको हो ।

ललितपुरमा रहेका तीन गाउँपालिका दुई नगरपालिका र एक महानगरपालिकामध्ये गाउँपालिकाको तुलनामा नगरपालिका र महानगरपालिकाभित्र बाक्लो र परम्परागत बस्ती रहेका कारण प्रबलीकरण गर्न समस्या परेको र छिमेकीले अनुमति पनि नदिएको सम्बन्धित निकायले जानकारी दिएको छ ।

ललितपुरका छ वटा पालिकामध्ये कोञ्ज्योसोम गाउँपालिकाभित्र धेरै घर प्रबलीकरण गर्नुपर्ने छ । सो गाउँपालिकाभित्र प्रबलीकरणका कूल लाभग्राही ३७२ रहेका छन् । यी लाभग्राहीमध्ये ३३० को सम्झौता सम्पन्न भई ३२७ ले प्रथम किस्ता लिएका छन् । दोस्रो किस्ता हालसम्म कसैले पनि नलिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरले शुक्रबार सार्वजनिक गरेको ‘पुनःनिर्माणका चार वर्ष’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा कोञ्ज्योसोपछि गोदावरी नगरपालिकाभित्र दोस्रो नम्बरमा निजी घर प्रबलीकरण गर्नुपर्ने जानकारी गराइएको छ । गोदावरीमा प्रबलीकरणका लागि ३२८ लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये १६९ निजी घरले प्रबलीकरणका लागि सम्झौता सम्पन्न गरी १६८ ले पहिलो किस्ताको रकम लिएका थिए भने दोस्रो किस्ता कसैले पनि हालसम्म लिएका छैनन् ।

यसैगरी कोञ्ज्योसोम र गोदावरीपछि लपु महानगरपालिकाभित्र तेस्रो नम्बरमा निजी आवास प्रबलीकरण गर्नुपर्ने देखिन्छ । महानगरपालिकाभित्र २६९ लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये १३० ले सम्झौता सम्पन्न गरे । सम्झौता गरेकामध्ये १२६ ले प्रथम किस्ता लिएभने दोस्रो किस्ता महानगरपालिकाभित्र कसैले पनि लिएका छैनन् ।

कोञ्ज्योसोम, गोदावरी, महानगरपालिकापछि चौथो नम्बरमा वाग्मती गाउँपालिकाभित्रका निजी आवास प्रबलीकरण गर्नुपर्ने छ । यो गाउँपालिकामा २५२ लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये १९९ को सम्झौता सम्पन्न भयो भने १९८ ले प्रथम किस्ता लिए । दोस्रो किस्ता लिएर निजी घर प्रबलीकरण गर्ने काम कसैले गरेका छैनन् ।

कोञ्ज्योसोम, गोदावरी, महानगरपालिका, वाग्मतीपछि पाँचाँै नम्बरमा महालक्ष्मी नगरपालिकाभित्रका निजी आवास प्रबलीकरण गर्नुपर्ने देखिन्छन् । सो नगरपालिकामा जम्मा लाभग्राही ८५ रहेका छन् । यी लाभग्राहीमध्ये ४५ निजी घरको सम्झौता सम्पन्न भयो । चौवालिसले पहिलो किस्ता लिए पनि दोस्रो किस्ता कसैले पनि लिएका छैनन् ।

छैटौँ नम्बरमा महाङ्काल गाउँपालिकाभित्रका ६६ घर परिवार लाभग्राही रहेका छन् । यी लाभग्राहीमध्ये ५८ को सम्झौता सम्पन्न भयो । सबैले पहिलो किस्ता लिए पनि एक घरले मात्र प्रबलीकरण सम्पन्न गरेको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ ललितपुरका आयोजना प्रमुख शिवराम गेलालले राष्ट्रिय पुनःनिर्माण प्राधिकारणको चारवर्षे कार्यकाल समाप्त भइसकेको स्मरण गर्दै एक वर्षभित्रमा गोरखा भूकम्पले क्षति भएका निजी आवास सम्पन्न गर्न सक्ने हो या होइन भन्ने अन्योल कायम रहेको बताए । सो एकाइ ललितपुरका अनुगमन मूल्याङ्कन विज्ञ यमनाथ गिरीले ललितपुरमा १६ वटा गुम्बा क्षति भएको बताउँदै आठ वटा पूरै मर्मत सम्भार गर्नुपर्ने र बाँकी आठ वटा नयाँ नै पुनःनिर्माण गर्नुपर्ने हुँदा त्यसका लागि ग्रेडका आधारमा निर्माण गर्न उपभोक्ता समिति गठन गरी काम अघि बढाइरहेको जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकारणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले मुलुकमा प्रबलीकरण गर्नुपर्ने निजी घर पुनःनिर्माणका लागि प्रबलीकरण समूह निर्माण गरिसकेको बताए । उनले भने, ‘प्रबलीकरणमा परेका लाभग्राहीले पुनः नयाँ घर निर्माण गर्छांँ भनेमा उनीहरूलाई प्राधिकरणले स्वीकृति दिनेछ ।’

तपाईको प्रतिक्रिया