कैलालीको पूर्वी नाकाबाट मानव तस्करी बढ्दै

  पुष १२, २०७६

झलनाथ खनाल

भजनी, १२ पुस : सत्ती भन्सार नाकामा मानव बेचबिखनका घटना बढ्न थालेका छन् । सुदूरपश्चिमको सबैभन्दा बढी मानव तस्करीका घटना कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने गरे पनि पछिल्लो समयमा खुला सिमानाका कारण सत्ती भन्सार नाकाबाट हुने गरेको पाइएको छ । गड्डाचौकी नाकामा कडाइ भएपछि सजिलैसँंग भारत पुग्न कैलालीको पूर्वी नाका मानव तस्करले प्रयोग गर्दै आएका हुन् ।

भजनी र टीकापुर नगरपालिकासँंग जोडिएका कालाकुण्डा, मरियाघाट, जसबहादुर घाट, डाक्टर घाट, कौवाखेडा, गुलरिया घाटलगायत ठाउँबाट सजिलै भारतीय बजार पुग्न सकिन्छ । ती ठाउँमा कुनै समन्वयकारी निकाय पनि छैन । भजनी ५ लालभोझीमा पृथ्वीपुर छोटी भन्सार तथा टीकापुर ९ मा सत्ती भन्सार कार्यालय छन् । ती भन्सार कार्यालयका बीचमा अवैध नाका चोरी पैठारीका लागि बढी नै मानिस सक्रिय छन् । विशेषगरी यस समयमा नदीमा पानीको बहाव कम हुने भएकाले पनि तस्करलाई सजिलो हुने गरेको छ ।

सत्ती भन्सार कार्यालयबाट मात्रै सात वर्षका अवधिमा बेचबिखनमा पर्न लागेका २८१ जनाको उद्धार गरिएको मानव उद्धारका क्षेत्रमा काम गर्दै आएको साना हात नेपाल क्षेत्रीय संयोजक तुल्सी नेपालीले बताए । उनले बढी कैलालीकै बेचबिखनमा परिरहेकाहरूको उद्धार गरिए पनि पूर्वी नेपाल तथा काभ्रेपाल्चोक, गोरखा, रुपन्देही, झापा, सुर्खेत, बर्दिया, कञ्चनपुरलगायत जिल्लाबाट पनि भारत तथा तेस्रो मुलुकमा बेचबिखनका लागि लग्दै गरेकाहरूको उद्धार गरिएको जानकारी दिए ।

‘रोजगारीका लागि भन्दै जाने धेरै आउँछन् । सोधखोज गर्दै जाँदा तिनको बयानले ती बेचिन लागेको थाहा पाएपछि तिनको उद्धार गर्छाँैं’, नेपालीले भने, ‘उद्धारपछि आश्रयस्थलमा राख्छौंँ र परिवारलाई खबर गरी परिवारको जिम्मा लगाउने गरेका छौंँ ।’

विद्यालय अध्ययन गर्न जाने भन्दै पोशाक झोलामा राखेर विद्यालयबाटै पनि भारतमा पैसा कमाउन जान लागेका विद्यार्थीलाई समेत उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । नेपालीले मानव तस्करले बालबालिकालाई नेपालबाट लिएर भारतमा मासु पसलमा काम लगाउने गरेको बताए । अगष्टदेखि हालसम्म साना हातले १५ जनाको उद्धार गरेको छ । अगष्टमा तीन, सेप्टेम्बरमा पाँच, अक्टोबरमा चार र नोभेम्बरमा तीन जनाको उद्धार गरिएको संयोजक नेपालीले बताए ।

शहर बजारको रहनसहनमा बसे पनि रोजगारीको अवसर नभएका कारण राम्रो जागीर लगाइदिने भन्दै मानव तस्करले भारतका विभिन्न शहरमा लिएर बेच्ने गरेको पाइएको छ । तस्करले युवतीहरूलाई छोटो समयमा राम्रो कमाइ हुने प्रलोभनमा पार्ने गर्छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको एक जनालाई मुद्दा समेत चलाइएको जानकारी दिँदै दोषी ठहर भएमा कसैलाई पनि नछाडिने बताए । उनले भारतीय सीमा प्रहरी बल (एसएसबी) सँंग समन्वय हुँदै आएको जानकारी दिँदै कुनै परिचयपत्र नखुलेको कसैलाई पनि भारत प्रवेश गर्न नदिइएको बताए ।

बेचबिखनका लागि भारत र तेस्रो मुलुकमा लैजाँदै गरेको अवस्थामा तिनको उद्धार गरिएको हो । सन् २०१२ देखि भन्सारमा काम गर्दै आएको साना हातले टीकापुरमा बेचबिखनमा परेका र उद्धार भएकाहरूका लागि आश्रयस्थलसमेत निर्माण गरेको छ । बेचबिखनमा पर्न लागेकाहरूको उद्धारपछि प्रहरीको समन्वयमा आश्रयस्थलमा राख्ने र परिवारसँग सम्पर्क गरी जिम्मा लगाउने काम भइरहेको साना हातकी नेपालीले बताए । विशेष गरी तेस्रो मुलुक जानका लागि समेत भारतको राजधानी दिल्ली पुग्न छोटो दूरी पर्ने भएका कारण मानव तस्करले कैलालीको पूर्वी खुला नाकाको प्रयोग गर्दै आएको स्थानीयवासी बताउँछन् ।

तपाईको प्रतिक्रिया