बूढानीलकण्ठमा तामाङ सङ्ग्रहालय बन्ने

  पुष ०९, २०७६

काठमाडौँ, ९ पुस : बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करिब तीन सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । ‘उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ’, प्रमुख खरेलले भने ।

रु बीस करोड लगानी रहने सङ्ग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहने छन् । सङ्ग्रहालयमा नेपालबाट लोप भइसकेका वा हुन लागेका झोलुङ्गे पुल, पानीघट्ट, माछापोखरीलगायतका प्रतिकृति पनि राखिने बताइएको छ । प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य छ ।

प्रदेशसभा सदस्य दीपक निरौलाले अबको दुई वर्षमा सङ्ग्रहालय निर्माण हुने बताए । ‘तामाङ सभ्यतासँग जोडिएको सङ्ग्रहालय निर्माण भएपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने छ’, उनले भने ।

तपाईको प्रतिक्रिया