सडक मानवमुक्त अभियानः परिवार र आफन्त भेट्न कठिन

  पुष ०९, २०७६

काठमाडौँ, ९ पुस : सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाहरूले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरूलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरू पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् ।

‘परिवारबारे जानकारी लिनका लागि उनीहरूलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ’, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने । पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा आफ्नो जीवन बिताइरहेकाको संरक्षण जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो ।

कामपाले आफ्नो २५औँ महानगर दिवस अर्थात् गत मंसिर २९ गतेदेखि शुरु गरेको यस अभियानअन्तर्गत हालसम्ममा २८५ जनालाई उद्धार गरिसकेको छ । यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् । सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ । उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

मंसिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने जनाई कामपाले यस किसिमको अभियान सञ्चालन गरेको हो ।

कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ । शुरुआतीको पहिलो चार रातमा सडक किनारामै सुत्ने २१५ व्यक्तिलाई उद्धार गरिएको थियो । अभियान शुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ को उद्धार भएको थियो । दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ लाई उद्धार गरिएको थियो । यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ लाई राति काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।

‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये १२९ पुरुष र १४ महिला तथा एक एक बालक र बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए । उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै नौ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताए । उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बिर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया