तरकारी बेचेरै छोरालाई इन्जिनीयरिङ पढाउँदै

  मंसिर ३०, २०७६

भीमदत्तनगर, ३० मंसिर : कञ्चनपुरको भीमदत्तनगरपालिका१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए ।

एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन । गत वर्ष तरकारीबाट दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । जेठो छोरा मजदुरीका लागि वैदेशिक रोजगारीमा छ’, उनले भने, ‘माइलो र कान्छो छोरोको खर्च तरकारी बेचेरै टरेको छ ।

उनले अहिले काउली, बन्दा, हरियो खुर्सीनी, बैगुन र रायोलगायतका तरकारी फलाएको बताए । वर्षमा हिउँदे र लहरे गरी दुई पटक तरकारी खेती हुन्छ’, रानाले भने, ‘विगत वर्षको तुलनामा तरकारीले राम्रो मुल्य पाउँदै गएको छ ।

विसं २०६१ देखि चार कठ्ठा बारीमा तरकारी खेती गर्दैआउनुभएका उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई पटक गरी १ लाख २० हजार अनुदान रकमसमेत पाएको बताए । कृषि कार्यालयको सहयोगले पनि व्यावसायिक खेती गर्न प्रेरणा मिल्यो’, उनले भने, ‘समयक्रम अनुसार आधुनिक प्रणालीबाट खेती पनि गरिरहेका छौँ ।

तरकारी जोगाउन खेतमै बास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका नयाँ कटानका किसानहरूलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन भने सकस छ । निकुञ्जबाट आउने चित्तल, बँदेल र तुम्लीलगायतका वन्यजन्तुले बाली खाएर हैरान गरेको किसानहरूको भनाइ छ ।

त्यसैगरी तीन बिघा जमीन भएका स्थानीय नाथुरामले करिब दश कठ्ठा खेतमा तरकारी फलाउनुभएको छ । विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका नाथुरामले तरकारी जोगाउन हरेक वर्ष समस्या हुने गरेको बताए । धान काटिसकेपछि मलाई गत भदौ महिनादेखि खेतमै बास बस्नुपर्ने बाध्यता छ’, तरकारी खेतको बीचमा बनाएको झोपडी देखाउँदै उनले भने, ‘झोपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।

सो बस्ती क्षेत्रमा करिब सात सय मिटर क्षेत्रमा निकुञ्जको तारजाली नलगाइएका कारण वन्यजन्तु बस्ती पस्ने गरेको उनको भनाइ छ । उनले पनि जेठी छोरीलाई क्याम्पसमा कृषि विषय पढाइरहेको बताए । रोजगारी पाउन यहाँ गाह्रो छ’, उनले भने, ‘बेरोजगार बस्नुभन्दा आफ्नै खेतबारीमा मेहनत गर्लान् भनेर कृषि विषय पढाउने निधो गरेँ ।

निकुञ्जले सो क्षेत्रमा वन्यजन्तु आउन नदिन तारजाली र पक्की पर्खालसमेत बनाउँदै आएको छ । बीचको भागमा पनि तारजाली बनाइदिएको भए खेती गर्न ढुक्क हुनेथियो’, रानाले भने, ‘मध्यवर्ती क्षेत्र भएकाले उपभोक्ता समितिमार्फत तारजाली जडान गर्न माग गरेका छौँ ।

उनले भारतीय तरकारी आयातले यहाँका किसानहरूको उत्पादन खपतमा समयसमयमा समस्या हुने गरेको बताए । अहिले भारतको तरकारी आयात कम हुँदा किसानले उचित मूल्यमा सहजै तरकारी बिक्री गर्न सकिरहेका छन’, उनले भने, ‘स्थानीय उत्पादनको खपतमा पनि ध्यान दिनु आवश्यक छ ।

त्यसैगरी गाउँमा रहेको राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले होमस्टे (घरबास) सञ्चालन गर्ने स्थानीयवासीहरूले पनि तरकारी खेती गरिरहेको बताए । होमस्टेमा आउने पाहुनाहरूले पनि ताजा तरकारी उपभोग गर्न पाउँछन’, सचिव रानाले भने, ‘विगतको भन्दा तरकारीको खपत यहाँ बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया