विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

  मंसिर ३०, २०७६

बेझाड, पाल्पा, ३० मंसिर : रामपुर नगरपालिका¬–७ स्थित आधारभूत माध्यमिक विद्यालयले निःशुल्क रूपमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।

अभिभावकलाई आर्थिक भार नपरो: र प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई सहज होस भनेर विद्यालयले शुल्क नलिइकन प्राबिधिक शिक्षा दिइरहेको छ । नेपाल सरकार शिक्षा विभागमार्फत यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्र्तगत पशुविज्ञान कक्षा सञ्चालन भइरहेको छ । विसं २०७४ देखि विद्यालयले पशुविज्ञान शिक्षा सञ्चालन गरेको हो ।

रामपुर नगरपालिकाको भौगोलिक भूगोल उपयुक्त भएको हँुदा कृषिलाई प्राथमिकता दिँदै पशुपालनलाई व्यवस्थित गर्न पशुविज्ञानको पठनपाठन सञ्चालन गरेको प्रधानाध्यापक रुपनाथ गौतमले बताए ।

पढेर जागिर नपाए पनि पशुपालन गरेर स्वावलम्बन बन्न सकिन्छ, खासगरी रामपुर पशुपालनका लागि सम्भावना बोकेको क्षेत्र हँुदा व्यवस्थित पशुपालनमा जोड पुग्नेछ’, प्रअ गौतमले भने ।

हाल यस विद्यालयमा प्राविधिक शिक्षाअन्र्तगत कक्षा ९ मा २३, कक्षा १० मा १८ र कक्षा ११ मा २० विद्यार्थी अध्ययनरत छन् ।

पशुविज्ञान शिक्षा पढ्ने सानैदेखिको रहर रहेको र गाउँमै यो विषय पढ्न पाउँदा सजिलो भएको कक्षा ११ का छात्र उमेशराज उपाध्यायले बताए । यो विषय पढेर ठूलाठूला पशुपालन व्यवसाय सञ्चालन गर्ने उनको सोच छ ।

सोही कक्षामा अध्ययनरत छात्रा प्रतिक्षा सुनारले घरमै बसेर गाउँको विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा पाउनु विद्यार्थीका लागि ठूलो अवसर भएको बताए ।

प्राविधिक शिक्षा पढ्नकै लागि बुटवल, पोखरा, काठमाडौँ जानुपथ्र्यो, घरमा आर्थिक अवस्था नाजुक हुँदा धेरैले पढ्ने रहर हुँदा हुँदै पनि बीचमै पढाई छाड्नुपर्ने समस्या हटेको छ’, उनले भने । विसं २०४५ मा स्थापना भएको यस विद्यालयमा हाल ४५१ विद्यार्थी अध्ययनरत छन् ।

यहाँ कक्षा नर्सरी देखि ७ सम्म अङ्ग्रेजी माध्यम र कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्र्तगत पशुविज्ञान कक्षा सञ्चालन भइरहेको छ । पशुविज्ञान शिक्षातर्फ पाल्पाको रामपुर नगरपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, स्याङ्जाको वालिङ नगरपालिकालगायतका विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले प्रयोगात्मक शिक्षणका लागि ३० रोपनी जग्गा भाडामा लिएको छ । यहाँ भैँसी, बाख्रा, गाईफार्म, च्याउखेती लगायतका फार्म सञ्चालनको तयारी गरिएको छ ।   आफ्नै फार्म व्यवस्थापन नहुँदासम्म स्थानीयस्तरमा सञ्चालित व्यावसायिक फार्ममा विद्यार्थीलाई प्रयोगात्मक शिक्षण गराउँदै आएको विद्यालयले जनाएको छ । चार वटा अनिवार्य र छ वटा पशुविज्ञानअन्र्तगतका पढाइ हुने गरेको छ ।

यो शिक्षा सञ्चालनका लागि सात दरबन्दी प्राप्त भएको छ । कक्षा ९ देखि १२ सम्मका लागि नेपाल सरकारले नौ वटासम्म दरबन्दी उपलब्ध गराउने विद्यालयले जनाएको छ ।

यहाँ प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालयले विसं २०७५ मा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरेको थियो । महायज्ञमा उठेको आर्थिक रकमबाट प्राविधिक शिक्षा शुरु गरेको हो । यो शिक्षा अध्ययनका लागि एउटा कक्षामा न्यूनतम २० र बढीमा ४८ विद्यार्थी हुुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया