कृषक पक्राउप्रति सङ्घको ध्यानाकर्षण

  मंसिर ३०, २०७६

चितवन, ३० मंसिर : नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको रिहाइको माग गरेको हो ।

सङ्घका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुशी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गरे । सङ्घले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरूले निर्णय गरेको सङ्घको आरोप छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ । सम्मेलनमा अण्डा उत्पादक कृषकमा बिचौलियाका कारण कृषक र उपभोक्ताहरू मारमा परेको जानकारी गराइएको थियो ।

सङ्घले मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको भए पनि सो मूल्यमा कृषकको फार्मबाट अण्डा उठ्न नसकेको समयमा बिचौलियाको प्रभावमा प्रशासनले कृषकलाई नियन्त्रणमा लिएको उनीहरूको आरोप छ ।

केसीले कृषकले ठूलो अण्डाको प्रतिक्रेट फार्म मूल्य २७५ र मध्यमको २५५ तोकेको भए पनि सप्लायर्सले कम मूल्य राखेर प्रचारप्रसार गरेपछि विवाद बढेको जानकारी दिए । अण्डाको लागत मूल्य ११ पर्ने भए पनि बिचौलियाका कारण कृषकले लागत मूल्य नपाएको केसीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया