अवरुद्ध सञ्चार पुनःसञ्चालनमा

  मंसिर ३०, २०७६

डोटी, ३० मंसिर : हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सुचारु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क पुनःसञ्चालन आएको जानकारी दिए । शुक्रबार साँझदेखि आइतबार दिनभरि टेलिफोनसँगै इन्टरनेट सेवा पूर्णरुपमा अवरुद्ध हुँदा यहाँका पहाडी जिल्लामा बैंकिङ कारोवार ठप्प भएको थियोे ।

हिमपातका कारण यहाँको जनजीवन भने प्रभावित नै बनेको छ । हिमपातसँगै बढेको चिसोले ससाना बालबालिका तथा वृद्धवृद्धमा निमोनिया, रुघाखोकी, दम, ज्वरोलगायतका विभिन्न रोगले सताउन थालेको जोरायल गाउँपालिका५ का प्रकाश रावलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया